१८ मंसिर २०७८, शनिबार
गृह कैलाली र कञ्चनपुरमा थप कडाइ
कैलाली र कञ्चनपुरमा थप कडाइ

कञ्चनपुर । कैलाली र कञ्चनपुरमा समेत कोरोना संक्रमित भेटिएपछि प्रदेश सरकारले लकडाउनमा थप कडाइ गर्ने भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको ‘कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा समन्वय निर्देशक समिति’को बैठकले नेपाल सरकारद्वारा जारी गरिएको लकडाउनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन कडाइका साथ लागू गर्ने र लकडाउन अवधि थप गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले बताए ।

क्वारेन्टाइन लाई थप प्रभावकारी र व्यवस्थित बनाउन कडाईका साथ क्वारेन्टाइनसम्बन्धी तोकिएको नियमानुसार लागू गरिने मन्त्री शाहले बताए । भारतलगायत अन्य मुलुकबाट आएका तर क्वारेन्टाइनमा नबसेकालाई अनिवार्यरुपमा क्वारेन्टाइनमा बसाउन स्थानीय तह तथा सुरक्षा निकायको समन्वयमा व्यवस्थित गरिने समेत बैठकले निर्णय गरेको छ । कोरानाको रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनका लागि आवश्यक पर्ने औषधि, उपकरण, आवश्यक सामग्री तथा विज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मार्फत नेपाल सरकारलाई माग गर्ने निर्णय गरिएको छ ।


Facebook Comments

हरेक खबर खास खबर