१७ मंसिर २०७८, शुक्रबार
गृह ९ दिनसम्म पनि उठेन बाबुरामको शव
९ दिनसम्म पनि उठेन बाबुरामको शव

बुटवल । कोरोना विशेष (अस्थायी) अस्पताल बुटवलमा चैत १६ गते मृत्यु भएका बाबुराम थापाको शव नौ दिन हुँदापनि उठ्न सकेको छैन । मृतकका आफन्त र प्रमुख विपक्षी नेपाली कांग्रेससहितका राजनीतिक दलले अस्पतालको लापरवाहीका कारण ज्वरोका विरामी थापाको मृत्यु भएको भन्दै छानबिन गर्न र पीडित परिवारलाई न्याय हुने गरी राहत दिन माग गर्दै शव उठाउन मानेका छैनन् ।

तर सरकारी पक्षबाट यससम्बन्धी औपचारिक धारणा अहिलेसम्म पनि आउन सकेको छैन । शव उठाउने पहल नगरेको भन्दै सरकारको आलोचना भइरहेको छ । सरकारले आफ्नो कमजोरी ढाकछोप गर्न आफ्ना मागमाथि बेवास्ता गरेको मृतकका परिवारको आरोप छ ।


पत्नी रिता थापा, रिताका दाजु कमल टण्डन लगायत आफन्तले कोरोना विशेष अस्पतालले बाबुराम थापा भर्ना भएदेखि मृत्यु हुँदासम्मको सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गरेका छन् । दुबईबाटै ज्वरो सहित आएका थापालाई ज्वरो निको नभएपछि चैत १३ गते कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । चैत १६ गते दिउँसो १ बजे उनको मृत्यु भयो । मृत्यु भएकै दिन मात्रै उनको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएकोमा अर्को दिन रिपोर्ट ‘नेगेटिभ’ आएको थियो ।

Facebook Comments

हरेक खबर खास खबर