१७ मंसिर २०७८, शुक्रबार
गृह डडेल्धुरामा ‘थ्रोट स्वाब’ संकलन सुरु
डडेल्धुरामा ‘थ्रोट स्वाब’ संकलन सुरु

डडेल्धुरा । डडेल्धुराका बिभिन्न क्वारेन्टाइनमा बसेकाहरुको ‘थ्रोट स्वाब’ नमुना संकलन कार्य सुरु भएको छ । आज बिहीबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत स्वाब संकलन गरिने उपकरण (भिटिएम) यहाँ लगिएपछि ‘थ्रोट स्वाब’ संकलन सुरु भएको हो । डडेल्धुराको सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पस, परशुराम नगरपालिकास्थित त्रिवेणी बहुमुखी क्याम्पस र सादनीबाट कोरोना परीक्षणका लागि ‘थ्रोट स्वाब’ संकलन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिएका छन् ।

जिल्लाको भित्री मधेसमा रहेका आलिताल गाउँपालिका र परशुराम नगरपालिकाका विभिन्न क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको त्रिवेणी बहुमुखी क्याम्पस र सादनीबाट ‘थ्रोट स्वाब’ संकलन गरिँदैछ । अमरगढी नगरपालिका, अजयमेरु गाउँपालिका, नवदुर्गा गाउँपालिका, भागेश्वर गाउँपालिका र गन्यापधुरा गाउँपालिकाको क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा बसेकाहरूको डडेल्धुरा बहुमुखी क्याम्पसबाट नमुना संकलन कार्य जारी रहेको प्रजिअ पन्तले बताए ।
कोराना परीक्षणका लागि डडेल्धुरामा १९० जनाको ‘थ्रोट स्वाब’ संकलन गरिनेछ। डडेल्धुरामा १०७ जना क्वारेन्टाइनमा बसेका छन् भने अन्य होम क्वारेन्टाइनमा छन्। संकलित नमुना बिहीबार नै धनगढी हुँदै काठमाडौं पठाइनेछ ।


Facebook Comments

हरेक खबर खास खबर