१७ मंसिर २०७८, शुक्रबार
गृह लकडाउनका बेला खाद्यले बेच्यो ३० हजार क्विन्टल चामल
लकडाउनका बेला खाद्यले बेच्यो ३० हजार क्विन्टल चामल

काठमाडौं । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३० हजार क्वीन्टल चामल बिक्री गरेको छ । विश्वभरि फैलिएको कोरोना भाएइरस कोभीड–१९ का कारण सरकारले लकडाउन घोषणा गरेको चैत्र ११ गते देखि २८ गतेभित्र खाद्यले उक्त परिमाणको खाद्यान्न(चामल) बिक्रीवितरण गरेको हो ।

सो अवधिमा ३० हजार एक सय ३२ अर्थात् ३ हजार १३ दशमलव २ मेट्रिक टन चामल खपत भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । लकडाउनलगत्तै चैत्र १४ गते मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा खाद्य कम्पनीसँग २५ हजार ७ सय ३३ मेट्रिक टन चामल मौज्दात रहेको जनाएको थियो ।


मन्त्रालयको पछिल्लो चैत २८ गतेसम्मको तथ्यांक हेर्दा कम्पनीसँग अझै २२ हजार ७ सय १९ मेट्रिक टन चामल रहेको देखिन आएको छ । यसले अझै ५–६ महिना अर्थात साउन भदौ महिनासम्म धान्ने अवस्था रहेको मन्त्रालयले जनाएको छ ।
सरकारसँग पर्याप्त खाद्यान्न रहेको बताउँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले खाद्यान्नलाई लिएर कोही पनि आत्तिनु नपर्ने बताए ।

‘हामीसँग अझै २३ हजार मेट्रिक टन चामल छ । उत्पादन नहुने र बाहिरबाट समेत आयात नहुने हो भने पनि यसले अझै ४–५ महिना धान्न पुग्छ । तर हामीले अरु पनि खाद्यान्न आयात गर्दैछौं । करिब ५ सय क्वीन्टल चामल आयात हुँदैछ,’ उनले भने ।सरकारसँग ९१ हजार एक सय २५ क्वीन्टल अर्थात् ९ हजार मेट्रिकटन तयारी चामल र १४ हजार ४ सय ६७ मेट्रिक टन धान रहेको छ । यसबाट ९ हजार ३ सय ३१ मेट्रिक टन चामल निकाल्न सकिने मन्त्रालयको भनाइ छ ।

Facebook Comments

हरेक खबर खास खबर