१८ मंसिर २०७८, शनिबार
गृह विदेशमा जोखिममा रहेका नागरिकलाइ फिर्ता ल्याउन अन्तरिम आदेश
विदेशमा जोखिममा रहेका नागरिकलाइ फिर्ता ल्याउन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको महामारी फैलिएका देशबाट आफ्ना नागरिकलाई तत्काल फिर्ता ल्याउने आवश्यक व्यवस्था गर्न सरकारलाई अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले यस्तो आदेश जारी गरेको हो । कोरोना भाइरसको महामारी फैलिएसँगै विदेशी मुलुकहरुले पनि आफ्ना नागरिकहरु फर्काइरहेको र विदेशमा श्रम गरिरहेका नेपालीहरुलाई फर्काउन दबाबसमेत आएको सन्दर्भमा उचित व्यवस्थापन गरी फिर्ता ल्याउन सर्वोच्चले भनेको हो ।

सर्वोच्चदे वैदेशिक रोजगारीमा रहेका र उक्त देशमा महामारी फैलिएकाले त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे प्रतिवेदन तयार गर्न निर्देशन दिएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम विना भेदभाव उपचार लगायतका सेवा प्राप्त गर्ने व्यवस्था मिलाउन परराष्ट्रमार्फत् कूटनीतिक पहल गर्न पनि सर्वोच्चको आदेशमा भनिएको छ । वैदेशिक रोजगारीमा रहेका अत्यन्त जोखिममा रहेका नेपाली नागरिकको अनियन्त्रित र अव्यवस्थित नेपाल प्रवेशबाट हुने थप जोखिमलाई संरक्षण गर्न, नागरिकको व्यक्तिगत अधिकार, बहुसंख्यक नागरिकाको जीवन स्वास्थ्य, सुरक्षाको हितलाई उनीहरुको उद्धार र फिर्ता ल्याउने कार्य गर्नुपर्ने देखिएको आदेशमा उल्लेख छ ।


अधिवक्ता सोमप्रसाद लुइटेलसहितले कोरोनाका कारण विदेशमा अलपत्र नेपाली कामदारलाई व्यवस्थापन र उद्धारको माग गर्दै सर्वाेच्च अदालतमा दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश जारी गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरु अलपत्र रहेको र कतिपयलाई फिर्ता जान दबाब सिर्जना भइरहेको विषयमा पनि सर्वोच्चले सरकारको ध्यानाकर्षण गराएको छ ।

Facebook Comments

हरेक खबर खास खबर