१८ मंसिर २०७८, शनिबार
गृह डेरामा बस्ने विद्यार्थीलाई सहयोग गरी नेविसंघले स्वर्ण महोत्सव मनाउने
डेरामा बस्ने विद्यार्थीलाई सहयोग गरी नेविसंघले स्वर्ण महोत्सव मनाउने

काठमाडौं । नेविसंघले आफ्नो स्थापना दिवसको अवसरमा अध्ययनका लागि डेरामा बसेका विद्यार्थीहरुलाई सहयोग गरेर स्वर्ण महोत्सव मनाउने भएको छ । संघका अध्यक्ष राजीव ढुँगानाले बिहीबार सर्कुलर जारी गर्दै जिल्ला समिति र क्याम्पस इकाईलाई यस्तो निर्देशन जारी गरेका छन् ।

वैशाख ६ गते नेपाल विद्यार्थी संघ स्थापना भएको ५० वर्ष पूरा गरी ५१ वर्षमा प्रवेश गर्दै छ । विश्वभर फैलिएको कोरोना भाइरस कोभीड –१९ को जोखिमबाट बच्न सरकारले जारी गरेकको लकडाउनका कारण डेरामा रहेका विद्यार्थी समस्यामा रहेको भन्दै नेविसंघले त्यस्ता विद्यार्थीलाई सहयोग गरेर स्वर्ण महोत्सव मनाउन लागेको संघका महामन्त्री वलदेव तिमल्सिनाले बताए ।


रक्तदान, राहत वितरण, सचेतना अभियान लगायतका कार्यक्रम स्थानीय प्रशासनसँग समन्वय गरी सामाजिक दूरी कायम गरेर आयोजना गर्न संघका अध्यक्ष राजीव ढुंगानाले सर्कुलर गरेका छन् ।  त्यस्तै, सामाजिक सन्जालमार्फत कोरोनाविरुद्ध जनचेतना फैलाउने, रक्तदान कार्यक्रम गर्ने र संघका नेता, कार्यकर्ता, मातहतका निकाय तथा मातृ पार्टीसँग भर्चुअल अन्तरक्रिया गर्न पनि परिपत्र गरिएको महामन्त्री तिमल्सिनाले बताए । यस अवसरमा नेविसंघ केन्द्रीय समितिले पनि यस्तै गतिविधि सञ्चालन गर्ने तयारी गरेको संघले जनाएको छ ।

Facebook Comments

हरेक खबर खास खबर